पोखरा १९ वडाध्यक्ष पाण्डे भन्छन, बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपचार हो

कास्की । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन्।अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टिकाटिप्पणीहरू भइरहेको छन्।आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरूले यसरी टिकाटिप्पणी गरेको उनको भनाइ छ। बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रुपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको बताए।उनले आफ्नो क्षेत्रका जनताले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरूलाई केही नचाहिने कुरा राखेको बताए। उनले गाउँका सबै रुख काट्ने कुरा नगरेको भन्दै ठूला रुख र बाँसका झ्याङहरूको फडानी गर्न आग्रह गरेको बताए। काटिएका रुखका स्थानमा लप्सी, काफल लगायतका बोटबिरुवा र फलफूलहरू लगाउने अभियान आफूहरूको रहेको बताए। ठूला रुख काट्नु प्राथमिक उपाचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुनेकुरा आफूहरूले नगरेको स्पष्ट पारे।यता पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने बताए। उहाँले रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको बताए। उनले आफूले वडालाई रुख काट्न रोक लगाउन पाचार गरिसकेको बताए। सबै रुख काटेर बाँदर नियन्त्रण हुन्छ भन्नेकुरा नरहेको जिकिर गरे।प्रमुख आचार्यले सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको जानकारी दिए।

थाहा खबर बाट साभार