देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको छ । उपप्रधानमन्त्री श्रेष्ठ

 

कालिकोट । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन्। सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार नेपाल–चीन सहकार्यका आधारस्तम्भका रुपमा रहेको बताएका छन् ।नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमुना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिएका छन्।चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्र्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताएका छन्।नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुसी व्यक्त गरेका छन्।