कालिकोट। कैलालीको टीकापुर–८ धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको बताईएको छ ।यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिएका छन्।केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले उद्घाटन गरेका हुन् । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको भनाई छ ।