कालिकोट। झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको पाईन्छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको पाईएको छ। किसानले धान खेत मासेर केराखेती गरेका छन् ।जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताएका छन् । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताएका छन् ।उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताएका हुन् । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिएका छन् । धिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् ।दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् ।झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् ।