कालिकोट । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा उपलब्धिको सूची सार्वजनिक गरेका छन् । उनले एक वर्षको अवधिमा आफूले गरेका ३२ वटा उपलब्धि सार्वजनिक गरेका बताईएको छ ।मन्त्री शर्माले गत आर्थिक वर्ष ९०७९र८००मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ७८८ योजना निर्माण सम्पन्न भइ १०५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुधार तथा ११५ हेक्टर सिँचाइ सुविधा थप भएको उल्लेख गरेका छन् । उक्त योजना कार्यान्वयनका क्रममा १५ हजार २२० जनालाई दुई महिना बराबरको अस्थायी रोजगारी सिर्जना भएको र यसबाट १८ हजार ४५६ घरधुरी लाभान्वित भएको पनि मन्त्री शर्माले जनाएका छन् ।यस्तै बाढी पहिरोका कारण क्षति भएका २१३ वटा सिँचाइ संरचनाको मर्मत सम्भार तथा पुनर्निर्माण भएको, चालु आर्थिक वर्षमा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ६२८ वटा योजनामध्ये ५०५ वटाको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको उनले उल्लेख गरेका छन् ।यस अवधिमा हिँउदे फलफूल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४३६ ओखर, हजार ९ सय किवी फल र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ बिरुवा वितरण गरिएको मन्त्री शर्माले जनाएका छन् । यसबाट फलफूल खेती अन्तर्गत दुई सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको, ३०५ घरघुरी लाभान्वित भइ २५० जनाले १५ दिनको रोजगारी पाएको उनले उल्लेख गरेका छन् ।ब्याज अनुदान कार्यक्रम मार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा परिचालन भएको बताउँदै मन्त्री शर्माले त्यसबाट १३५७ जना कृषक प्रत्यक्ष सहभागी भएको बताए । उक्त कार्यबाट ८५० जना पूर्ण स्वरोजगार र ३५७० जनालाई ३ महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको मन्त्री शर्माको उपलब्धिको सूचीमा उल्लेख छ ।दुग्ध प्रवर्द्धन कार्यक्रम मार्फत दुध उत्पादन गर्ने कृषकलाई पहाडी जिल्लामा प्रतिलिटर ५ रुपैयाँ र हिमाली जिल्लामा प्रतिलिटर १० रुपैयाँका दरले १ करोड २७ लाख ४८ हजार रुपैयाँ प्रोत्साहनस्वरुप उपलब्ध गराइएको र यसबाट २३ लाख ९२ हजार ९८८ लिटर दुध संगठित बजारमा पुगेर ३०५३ जनालाई ५ महिना र ४१२ जनालाई पूर्ण रोजगारी सिर्जना भएको जनाइएको छ ।मन्त्री शर्माले एक वर्षे अवधिको उपलब्धिको सूचीमा पशु खोप कार्यक्रमतर्फ १५ लाख ७३ हजार ४६७ पशुपन्छीलाई प्रमुख संक्रामक रोगविरुद्ध खोप लगाइएको विषयलाई पनि समेटेका छन् ।