कालिकोट । आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ। मतदान आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने भएको छ ।फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदका लागी निर्वाचन हुन लागेको हो। त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदान रहेका छन् ।यसमा नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ भने गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार उठाएका छन् ।निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता रहेका छन्। प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने भएको छ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुने भएको छ।राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।