हिमपात नहुँदा हु्म्लाका किसान चिन्तामा

 

कालिकोट । लामो समयसम्म हिमपात नहुँदा हुम्लाका किसान खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता बढेको छ ।पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे । यस वर्ष जिल्लामा दुई पटक मात्रै हिमपात भएको छ । त्यसले किसानमा खासै उत्साह छैन । जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन ।मङ्सिर, पुस र माघमा अत्यधिक हिमपात हुने भए पनि यस वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात खासै भएन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ ।यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेषगरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मङ्सिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यस वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् ।यहाँको जमिन सुक्खा देखिँदै गएको छ भने हिउँदका समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् । पुसमा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमाल सुक्खा देखिएका छन् ।जलवायु परिवर्तनमा आएको असर हुम्लासमेत परेको छ । आकाशमा बादल देखिए हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए । उनले भने, “हुम्लामा दुई–तीन वर्षयतादेखि १० वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छाडेको छ ।”हुम्लाका किसानले सोचेजस्तो हिमपात नहुँदा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायत बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकतापर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका छन् । गर्त वर्ष ढिलोगरी हिमपात र वर्षा भएकाले यस वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।जाडोयाममा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताए ।किसान चिसो बढेकोभन्दा पनि हिमपात नभएका कारण खेतमा लगाइएको हिउँदेबाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् । हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका उच्च भेगमा हिमपात नहुँदा कृषक पनि चिन्तित बनेका छन् ।

error: Content is protected !!