कालिकोट । दार्चुलामा पक्रन आएका प्रहरीलाई चक्कु हानेर एक जना फरार भएका छन् । श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् । दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ ।चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् ।जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन् ।उनीहरू दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत हुन् ।उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् ।उनको खोजी भइरहेको छ भने घाइते प्रहरीको दार्चुलामै उपचार भईरहेको प्रहरीले जनाएको छ ।