कालिकोट । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो । आवेदन दिने समय भोलीसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ । आजमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि भट्टराई लगायतले आवेदन दिएका छन् । त्यस्तै त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाले समेत आकांक्षा देखाएका छन् । तर, उनले आजसम्म आवेदन भने दिएका छैनन् । आज आवेदन दर्ता गराएका पूर्व डीन न्यौपानेले त्रिविको व्यापक सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । त्रिविले अहिले खुला प्रतिस्पर्धाबाट भिसी नियुक्त गर्न लागेको प्रक्रियाले समेत त्रिविको सुधारको संकेत देखिएको बताए । उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । हाल उनी समेत उपकुलपतिको रेसमा छन् । भिसीका लागि अन्य प्राध्यापकहरूले समेत तयारी गरेका छन् । उपकुलपति नियुक्तिका लागि पहिलोपटकको दरखास्त आह्वानमा विरोध भएपछि २३ पुसमा दोस्रो पटक सूचना निकालेको थियो ।