कालिकोट । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ’डी’ को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले न्युजिल्यान्डको तीन विकेट लिइसकेको छ । पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो । नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे । वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे । १३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गर । जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए । स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए । न्युजिल्यान्डले तेस्रो विकेट गुमाउँदा ६७ रन जोडेको स्थिति थियो ।