टाइगर कप राष्ट्रिय भलिबलमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरी एपीएफको ह्याट्रिक

 

कालिकोट । पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ । प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ।महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले तेस्रो पटक लगातार उपाधि जितेको हो। पहिलो सेट एपीएफले २५–२० ले, दोस्रो सेट २५–१८ ले र तेस्रो सेट २५–२१ ले जित्दै एपीएफले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । उपबिजेता न्यु डायमन्डले दुई लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको बताईएको छ ।पुरुषतर्फ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौँ च्याम्पियन भएको छ। त्यस्तै तीन जना भारतीय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल सङ्घलाई तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्टस क्लबले ३–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएको हो। पहिलो सेट २५–१३ ले, दोस्रो सेट २५–१८ ले जित्दै दबाबमा राखे पनि तेस्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जितेको थियो। तर चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधि नै जितेको छ । खेलका सबै क्षणहरू आफ्नो पक्षमा पारेको हेल्प नेपालको रणनीतिलाई चिर्न नसक्दा गण्डकी उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो।च्याम्पियन भएसँगै हेल्प नेपाल स्पोर्टस क्लबले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँका सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता गण्डकीले नगद दुई लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ।पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो स्थान प्राप्त गरेको छ। तेस्रो स्थानको खेलमा पाहुना टोली श्रीलङ्का आर्मी टिमलाई एपीएफले सोझो ३–० सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२३ ले, दोस्रो सेट २५–२१ ले र तेस्रो सेट २७–२५ ले जित्दै तेस्रो बनेसँगै एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँ हात पारेको छ।प्रतियोगितामा महिलातर्फ एपीएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन घोषित भएका छन्। फकर उद्धिन पाकिस्तानी खेलाडी हुन्। उनीहरूले ट्रफीका साथमा जनही २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका छन्।

 

error: Content is protected !!