‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’

एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ।लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शुरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो।गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन स्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन्। गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ। तथ्याङ्कअनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुने गरेको छ।गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ। जसमा संयुक्त राष्ट्रसंघीय निकाय युएन विमेनले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ।गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ।युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तीमा तीन हजार महिला विधवा वा घरपरिवारविहीन भएका अनुमान गरिएको छ।यसैगरी, कम्तीमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुनसक्ने विवरणमा बताइएको छ।महिला र बालबालिका द्वन्द्वको पहिलो सिकार हुने तथा उनीहरूलाई लक्षित गरी शान्ति खोज्नु आफ्नो कर्तव्य भएको फेरि एकपटक प्रमाणित गरेको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले बताए।उनले भने, “विगत १५ वर्षमा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुई तिहाइ पुरुष रहेका छन्। यसैगरी १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन्। तर, पछिल्लो १०० दिनमा समयमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन्। प्यालेस्टिनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ।

थाहा खबर बाट साभार

error: Content is protected !!