कालिकोट । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौं, कास्की, सुर्खेत र बारामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा२ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका–१२ बेतौना घर भई काठमाडौं मुलपानी बस्ने २९ वर्षीय हरि यादवको हिजो बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित सडकमा ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करबाट उक्त विद्यालयको नर्सरी कक्षामा पढ्ने सोही ठाउँ बस्ने तेजबहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्कुल बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–५ स्थित सडकमा पञ्चपुरीबाट सुर्खेततर्फ जाँदै गरेको बा८१प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, बाराको फेटा गाउँपालिका–३ फेटा नहरस्थित सडकमा ना५८प १३३१ नम्बरको मोटरसाइकल र बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना५८प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका–३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।