कालिकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन्।पार्टी निकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचार र तस्करीको संरक्षक भएको आरोप पनि लगाएका छन्।‘गठबन्धनमा भएका सबै लोभिपापीहरू हुन्। यिनीहरूको घाँटी मात्र होइन सिंगै शरीर जोडिएको छ। यी एकै वंश, एकै नश्लका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो। यिनीहरू एकै ठाउँमा बस्छन्।’ ओलीले भनेका छन् ।गठबन्धनका कुनै पनि दलले आफूहरूसँग एक्लै भिड्ने आँट गर्न नसक्ने भन्दै उनले सरकार अहिले बुख्याँचाजस्तो भएको टिप्पणी गरेका हुन्।‘गठबन्धनमा रहेका हाम्रा विरोधी कोही पनि हामीसँग एक्लै भिड्ने आँट गर्दैनन्। सबै जोडेर सरकार बनाएका छन्। सरकार तरकारी बारीको बुख्याँचा जस्तो छ। अहिले त्यसका टाउकामा सुगा पनि बस्छ, काग पनि बस्छ। किनभने सबैले चिनिसके यसले केही गर्दैन।’ ओलीले भने, ‘यो सरकार निकम्मा मात्र होइन भ्रष्टाचारको संरक्षक, तस्करीको संरक्षक, कमिशनखोरीको आयोजक र संरक्षक हो।’उनले आफूहरू मिसन ८४ मा रहे पनि त्यसअघि नै निर्णायक आन्दोलन गर्नसक्ने संकेत गरेका छन् भने सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि उनले आग्रह गरेका छन्।