कालिकोट । काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोहहरु पक्राउ परेको बताएको छ ।काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताएका हुन्।पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका लेखविक्रम थापा रहेका छन्।त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ।