कालिकोट । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ।बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि आज अदालत पेस गरिने जानकारी दिएका छन्। उनका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन्।स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिएका हुन् । उनका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन्। ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ।अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन।