चितवन । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत १ हजार रुपैयाँ दिने गरेको छ।नगरभित्र रहेका गाईभैँसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो। भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ।नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाप्रमुख डा रबिन बस्ताकोटीका अनुसार शुरुआतमा सुत्केरी भएका गाईभैँसीलाई भत्ता दिन थालिए पनि अहिले कृत्रिम गर्भाधान गराएका र बीमा गरिएकालाई भत्ता उपलब्ध गराइएको हो।माडी क्षेत्रमा भैँसी धेरै पालिने गरे पनि कृत्रिम गर्भाधान खासै गरिँदैनथ्यो। भत्ता लिनका लागि कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र, सो वस्तुबाट जन्मिएको पाडापाडी, बाच्छाबाच्छीसँगै भएको फोटो, पशु बीमा गराएको प्रमाणपत्रसमेत राखेर निवेदन दिनुपर्ने हुन्छ। बीमा अनिवार्य गरेपछि यस वर्ष १ सय पशुधनीले भत्ता माग गर्ने अनुमान गरिएको छ।पशुलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेपछि अहिले पशु बीमा गराउनेको सङ्ख्यासमेत बढ्दै गएको उनले बताए। पशु बीमाका लागि सङ्घीय सरकारले ८० प्रतिशत, माडी नगरपालिकाले १५ प्रतिशत र पशुधनीले ५ प्रतिशत बेहोर्दै आएको छ।बस्यालका अनुसार पशु बीमामा मात्रै बार्षिक १२ लाख रुपैयाँ विनियोजन हुँदै आएको छ। माडीमा चालु आवमा ६५३ गाईभैँसीलाई कृत्रिम गर्भाधान गराइएकोमध्ये ६ सय वटा गाई र ५३ वटा भैँसी छन्।
थाहा खबर बाट साभार