भूकम्पको ८ वर्ष बित्दा पनि अझै बनेनन् १५० सम्पदा, ४ अर्ब रुपैयाँ आवश्यक

 

काठमाडौँ । आज विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र यसको सम्भावित जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना बढाउन यो दिवस मनाउन लागिएको जनाएको छ।प्राधिकरणका अनुसार आज ९मंगलबार० ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ। उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा कार्यक्रम आयोजना हुनेछ।चन्द्रागिरि नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहभागी हुने उक्त कार्यक्रममा भूकम्पबाट सुरक्षित रहने र कसरी संरचना बलियो,सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी पनि गरिनेछ। तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार १९९० सालको भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो। ८० हजार घर ध्वस्त भएका थिए। ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २४८ संरचना भत्किएको थियो।यसैगरी विसं २०७२ वैशाख १२ गते पनि ठूलो भूकम्प गयो। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७।८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा ८ हजार ९७९ जनाको मृत्यु भएको थियो। २२ हजार ३०९ जना घाइते भएका थिए।त्यही भूकम्पले ऐतिहासिक सम्पदामा समेत क्षति गर्‍यो। पुरातत्त्व विभागका अनुसार देशभर भूकम्पले ९२० ऐतिहासिक एवं सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए। भूकम्प गएको ८ वर्ष बितिसक्दा पनि अझै ती ढलेका सम्पदा पुनर्निर्माण हुन सकेका छैनन्।पुरातत्त्व विभागले हालसम्म ७७० वटामात्रै सम्पदाको पुनर्निर्माण सकिएको जनाएको छ। ‘९२० वटा सम्पदामा भूकम्पले क्षति पुगेको थियो, तीमध्ये ७७० वटाको पुनर्निर्माण भइसक्यो,अब १५० वटाको निर्माण गर्न बाँकी छ’, पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने।
थाहा खबर बाट साभार

error: Content is protected !!