चाडपर्वले राष्ट्रिय एकतामा थप सुदृढ बनाउन मदत पुग्ने राष्ट्रपतिको भनाई

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्।माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना समेत गरेका छन्। उनले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने बताएका छन्।‘यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा रहेको छ। सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउने उनको भनाइ छ।

error: Content is protected !!