कालिकोट । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तामाथि विभिन्न १४ वटा गतिविधि गरेको खण्डमा अनुशासनको कारबाही हुने प्रस्ताव अघि सारेको छ । माओवादीको मस्यौदा विधान–२०८० को धारा ५२ मा अनुशासनको कारबाहीसम्बन्धी व्यवस्था गरिएको हो । जसअनुसार कुनै पनि समिति वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूमाथि अनुशासनात्मक कारबाही हुने स्पष्ट गरिएको छ । पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र विधानले गरेको व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा त्यस्ता नेता कार्यकर्तामाथि अनुशासनको कारबाही हुन सक्नेछ । यस्तै पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेमा, पार्टीको निर्णय उल्लङ्घन गरेमा, पार्टीप्रतिको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा पनि कारबाही हुनेछ । यस्तै पार्टी समितिको गोपनीयता भङ्ग गरेमा, पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा रहेमा वा विरोधीसँग साँठगाँठ गरेमा, कुनै पनि जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवार बनेमा, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेमा वा पार्टीको उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिएमा, अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा पनि अनुशासनको कारबाही हुने प्रस्ताव गरिएको छ ।