कालिकोट। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बिच हुने भनिएको पार्टी एकतामा मलमल देखिएको छ । पार्टी एकताका लागि नेसपाले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरिसकेको छ । तर माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने भनिए पनि अझै पूर्णता पाउन सकेको छैन । नेसपाका नेताहरू शनिवार बस्ने माओवादी स्थायी समितिबाट समिति गठन हुने विश्वासमा रहेका छन् । एकता प्रक्रियाका लागि स्थायी समितिले निर्णय गर्ने जानकारी आएको नेसपाका शीर्ष नेताहरूले बताएका छन् ।मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच दुवै पक्षले अध्यक्षको नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो । सोही सहमति बमोजिम मङ्सिर ६ गते नेसपाको केन्द्रीय समिति बैठकले अध्यक्षद्वय भट्टराई, महिन्द्रराय यादव, सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश यादव रहेको समायोजन समिति बनाएको थियो । त्यसयता दुवै पक्षका वार्ता टोलीबिच अनौपचारिक छलफल भए पनि औपचारिक छलफल नभएको नेसपाका सहअध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।‘माओवादीले अहिलेसम्म समिति नै बनाएका छैनन् । व्यक्ति व्यक्तिबिच भेटघाट गर्नुबाहेक केही पनि नभएको बताईएको छ ।बाबुरामले कम्युनिस्ट नाम राखेर समाजवादी पार्टी बनाउन अनिच्छुक देखिएका छन् भने चुनाव चिह्न हँसिया हथौडामा पनि उनले रुचि देखाएका छैनन् । तर माओवादी नेताहरू समाजवादी केन्द्र वा समाजवादी पार्टी बनाए पनि नेकपा छोड्ने पक्षमा छैनन् ।यद्यपि कोष्ठभित्रको माओवादी केन्द्र हटाउने विषयमा विशेष महाधिवेशनमा छलफल गर्न सकिने यसअघि नै निर्णय गरिसकेको छ । माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीको नाम जेसुकै राखे पनि मार्क्सवाद, लेनिनवाद र माओवाद मार्गदर्शक सिद्धान्त हुने बताएका छन् । बाबुरामको विचारमा निरन्तरता नभएकाले कुनै दिन मार्क्सवाद नै वकालत गर्ने दिन आउने उनको बुझाइ रहेको छ ।