कालिकोट । चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको सूचना जारी गरेका हुन् ।सिराहाको गोलबजार नगरपालिकाले सूचना जारी गर्दै ७ दिनको लागि विद्यालय बन्द रहने सूचना जारी गरेको छ । शिक्षा शाखा अधिकृत सुबोध कुमार लामाद्वारा जारी सूचनामा माघ २ गते मात्र विद्यालय खुल्ने उल्लेख गरेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका प्रकोपबाट पीडित भएका छन् ।चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाले पनि आजबाट लागु हुने गरी एक हप्ता जाडो बिदा दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन् । त्यसैगरी नगरहा गाउँपालिकाले पनि विद्यालय जाडो बिदा दिएको छ ।