कालिकोट । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्।क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नरहेको जिकिर गर्दै उच्च अदालत जान लागिएको बताएका छन् ।आज काठमाडौँ जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्याय माग्न उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरेका छन्।‘आज सजाय निर्धारणसम्बन्धी सुनुवाई थियो। हामीले बहस सकेका छौँ। हामी सन्दीप लामिछाने शुरुवातीका दिनदेखि निर्दोष हो भन्ने मान्यता राख्छौँ र ऊ पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ तर हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षतामा अटल विश्वास छ‚’ अधिवक्ता घिमिरेले भने, ‘त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ‚ त्यसमा हाम्रो गम्भीर आपत्ति छ। अदालतले गरेको आदेश मान्नुपर्ने हाम्रो बाध्यता हुँदाहुँदै पनि हामी निर्दोष भएको हुनाले हामीले त्यसलाई च्यालेन्ज गर्ने हाम्रो अधिकार छ। हाम्रो त्यसमा गम्भिर आपत्ति छ।’अधिवक्ता घिमिरेले सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारणसम्बन्धी बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारेका छन् ।
’