कालिकोट । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौं महानगरपालिकाले कारबाही शुरु गरेको छ।महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालेको जानकारी दिएका छन् । पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरिएको पाण्डेले जानकारी दिएका छन् ।चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीलाई कारबाही गर्ने घोषणा गरेको थियो। यो पटक महानगरले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबहरुलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको बताएको छ।कुकुरको मलमूत्रबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलिने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा. ग्रीष्म न्यौपानेले बताएका छन् ।