निर्विरोध सभामुख चुनिए अम्बरबहादुर विष्ट

 

विराटनगर । राप्रपाका सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। मंगलवार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन्।सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रियामा जानु परेन। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गएको साउन १६ यता कोशी प्रदेशसभा सभामुखविहीन थियो।सत्ता गठबन्धनको समर्थनमा सभामुखको उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि सर्वसम्मत सभामुख चयन भएका हुन्।९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। वर्तमान सरकार जोगाउन सभामुख पद नेकपा एमाले र राप्रपामध्ये एउटालाई बुझाउनुपर्ने बाध्यता गठबन्धनलाई थियो।गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्। सरकार जोगाउन गठबन्धनले राप्रपालाई सभामुख दिएको हो। सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एकजना सांसद छन्।प्रतिपक्षमा ४० जना सांसद रहेको एमाले र ६ जना सांसद रहेको राप्रपा छ।

थाहा खबर बाट साभार

error: Content is protected !!