पुर्ख्यौली कालिगड पेसा संरक्षण गर्दै युवा

 

भोजपुर । धेरै युवामा विदेश प्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुख्र्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्र साइलीले बताए । पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उनले बताए । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ । आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडालगायतका खुकुरी बनाउने उनको भनाइ छ । स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको उनले बताए । “विदेशप्रतिको मोह त्यागेर पुख्र्यौली कालिगड पेसा गर्दै आएको छु”, उनले भने, “हामीजस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । यसको संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्ने मेरो लक्ष्य छ ।” विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उहाँको भनाइ छ । कतिपय खण्डमा मेहनतअनुसारको आम्दानी लिन समस्या हुने गरेको उनले बताए ।“पछिल्लो समयमा यो पेसाप्रति युवाको आर्कषण घट्दो छ”, उनले भने, “यो काम गर्न अलि बढी नै मेहनत पर्छ । दुर्गम ठाउँमा व्यवसाय सञ्चालन गरिरहेकाले बजारसम्म पुर्याउन अलि समस्या हुन्छ ।” व्यवसाय सञ्चालनमा कच्चा पदार्थ र बजारको समस्या रहेको उहाँको भनाइ छ । सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या भएको कालिगडहरूको भनाइ छ । उत्पादन गरेको खुकुरीले पनि मेहनतअनुसार मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उनले बताए । राज्यका तर्फबाट यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रातो पार्टी बाट साभार

error: Content is protected !!