कालिकोट । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ । आज बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो । एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन । हिजो बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो ।