कालिकोट । आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ३ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धन दलबाट १२४ जना आकांक्षी देखिएका बताईएको छ । नेपाली कांग्रेसले ९२, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादीले ६ जनाको नाम सिफारिस गरेका छन् । ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा चुनिएका भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको ठाउँमा चुनाव हुन लागेको हो । सात प्रदेशमा गरी १९ सिटमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागवण्डा मिलेको छैन । त्यसैले कुन प्रदेशको कुन क्लस्टरमा कुन दलले उम्मेदवार उठाउने भन्ने टुंगो लागेको छैन । गत पौष १७ गते बसेको कांग्रेसको कर्णाली प्रदेश समितिको बैठकले गठबन्धनबाट चुनाव लड्दा पनि कर्णालीमा दुई सिट आफूहरुले पाउनुपर्ने माग गरेको छ ।