लमजुङमा बर्सेनी घट्दैछ सुन्तला उत्पादन

लमजुङ  । जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो।बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाएको बताए। उनले एक दशकअघि बर्सेनी छ लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका थिए। तर पछिल्लो समय बर्सेनी पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ। यो वर्ष मुस्किलले ८० हजारसम्म आम्दानी गरेको उनको भनाइ छ। घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिवेला सुन्तला उत्पादन घटेको पन्तले बताए।जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ। एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक दुई करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए। ६–७ वर्षयता १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए। विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँशहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताए।कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा १३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत आर्थिक वर्षमा जिल्लामा १२५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट ५२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भए पनि उत्पादन १२५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए।त्यस्तै, आव २०७८÷७९ मा १८० हेक्टर क्षेत्रफलमा एक हजार २४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आव २०७७÷७८ मा २१३ क्षेत्रफलमा एक हजार ४२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ।सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!