कालिकोट । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल थालिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा हिजो वीरेन्द्रनगरमा छलफल गरेको बताईएको छ ।अन्तरक्रियामा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताएका छन् ।कर्णाली प्रदेशसभा सदस्यद्वय विन्दमान विष्ट र घनश्याम भण्डारीले अन्य प्रदेशमा विकास बोर्ड कार्यालय स्थापना, उत्पादन तथा बजारीकरणका काम भइरहँदा कर्णालीमा त्यसो नगरिएको बताए। बराहताल गाउँपालिका–३, सुर्खेतका कफी कृषक मोहनकुमार आचार्यले प्राविधिक ज्ञान नहुँदा लगाएको कफी मास्नु परेको गुनासो गरेका छन्।बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कर्णालीमा चिया र कफीको सम्भावना रहेको बताएका हुन्।छलफलमा चिया तथा कफी विकास बोर्ड कार्यालय प्यूठानका प्रमुख सीपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेको बताएका छन्।