कालिकोट – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाउनुभएको छ । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यो मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको बताउनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।