मत बराबर भए प्रधानमन्त्रीको मत दोब्बर मान्ने कानुनी व्यवस्थाको प्रस्ताव ।

कालिकोट । नेपाली कांग्रेसले संवैधानिक परिषदबाट निर्णय लिने सन्दर्भमा मत बराबर भए परिषदको अध्यक्ष प्रधानमन्त्रीको मत दोब्बर मान्ने गरी कानुनी व्यवस्थाको प्रस्ताव राखेको छ । प्रधानमन्त्रीको अध्यक्षमा रहने परिषदमा ६ जना सदस्य हुन्छन् । अध्यक्ष र बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने प्रस्ताव कांग्रेसको छ । ६ जनामा बहुमत ४ हुन्छ । ४ जना उपस्थित बैठकमा निर्णय लिन सदस्यहरुको मत बराबर भए अप्ठ्यारो हुन सक्ने भन्दै कांग्रेसले प्रधानमन्त्रीको मत दोब्बर मानेर निर्णय लिने प्रस्ताव प्रस्तावित विधेयकमा राखेको हो । प्रधानमन्त्रीको अध्यक्षमा हुने परिषदमा प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख सदस्य हुन्छन । यसले प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्दछ । प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने बैठकमा भने नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहन्छन् । ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ चैत २०२९ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरु गरेको छ । आज स्वयम प्रधानमन्त्री प्रचण्ड समेत विधेयकमाथिको छलफल उपस्थित थिए । उनले कानूनी रिक्तताको अवस्था अन्त्य गर्न विधेयक ल्याइएको बताइएको छ ।