कालिकोट । राष्ट्रियसभामा एमालेलाई सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले सत्ता गठबन्धनमा खटपट शुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन संसदमा विचाराधीन टीआरसी विधेयक पास गर्नकै लागि भए पनि एमालेलाई राष्ट्रियसभामा सिट दिनुपर्ने शर्त अघि सारेपछि सत्तारुढ नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी झस्किएका छन्।एमालेले टीआरसी विधेयक पास गर्न राष्ट्रियसभामा ६ सिट मागेको प्रधानमन्त्रीले ब्रिफिङ गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त बैठकमै विमति राखेका थिए।प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि छलफल गर्न कांग्रेस र एकीकृत समाजवादीले पार्टीको बैठक नै बोलाएका छन्। अध्यक्ष नेपालले भोलि दिउँसो १ बजे र कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवार कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।आफ्नो प्रस्तावले गठबन्धनका दलहरु आत्तिएपछि आज रामेछाप पुगेका प्रधानमन्त्री प्रचण्डले संसद सञ्चालन गर्न, संक्रमणकालीन न्याय टुंग्याउन र लोकतन्त्रको रक्षा गर्नका लागि पनि एमालेसँग मिल्नुको विकल्प नरहेको बताएका छन्।राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुँदै छ।