कालिकोट । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनु भएको छ ।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरंग नल्याउने टिप्पणी गर्नु भएको छ ।अहिलेको राज्य संचालनमा आफ्नो भुमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर रहेको छ ।अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताउनु भयो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्नसमेत गर्नु भयो ।