कालिकोट । भूमिगत हुँदा गरेको गतिविधि विरुद्ध परेको मुद्दाका कारण अहिले नेकपाका महासचिव विप्लवसहितका शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा अदालतले नेकपा महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताईएको छ।सार्वजनिक सूचना जारी गरेर उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन अन्यथा कानूनबमोजिम हुने भनिएको छ। उनीहरूविरुद्ध काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोगमा सरकारी वकिलको कार्यालय काठमाडौंले २०७६ असोज ९ गते मुद्दा दायर गरेको थियो।सो मुद्दामा सरकारी वकिलले अभियुक्तहरूको ठेगाना खुलाउन नसकेपछि यही मंसिर १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले पत्रिकामा सूचना छाप्ने आदेश गरेबमोजिम सोमबार ९मंसिर १८ गते गोरखापत्रमा सूचना प्रकाशित भएको थियो।३५ दिने सूचना जारी भएको तीन हप्ताभन्दा धेरै भइसके पनि नेकपाका नेताहरू अदालत नजाने अड्डी कसेर बसेका छन्। विप्लव नेकपा केन्द्रीय सदस्य एवं उपत्यका ब्यूरो इन्चार्ज माइला लामा बरु उल्टै यसविरुद्धको आन्दोलनमा आफूहरू निरन्तर रहेको बताएका छन् ।