कालिकोट । देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ। सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको बताईएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार यस वर्षभरी नयाँ मार्ग निर्माण गर्ने र निकुञ्ज परिसरलाई सजाउने योजना रहेको छ।बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टाको आयोजना तथा निकुञ्जको सहकार्यमा सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीलाई जङ्गल सफारी गराइएको थियो। नाट्टाका संयोजक श्रीराम सिग्देलले सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताए।‘निकञ्जबारे तीनै तहका सरकारले चासो दिन आवश्यक छ। बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकीयस्थल रहेका छन्।निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। यसको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रभित्र पर्छ। निकुञ्जभित्र पूर्व पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमीको रहेको छ। बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको यो निकुञ्ज बर्दिया, दाङ र सल्यानसँग जोडिएको छ।निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ। यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायत जनावर पाइन्छन्। जैविक विविधताको दृष्टिले आठ पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पक्षी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने ९सरिसृप० तथा छ प्रजातिका उभयचर प्राणी पाइन्छन्।