कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ । सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुन बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने उनले बताए । डा। पुन भन्छन्, ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो, जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन–१ भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो । यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो । विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ । विगतको ट्रेन्ड हेर्ने हो भने भारतमा संक्रमण फैलिएको केही समयपछि नेपालमा देखिएको थियो । अहिले भेटिएको नयाँ भेरियन्ट भारतको विभिन्न ठाँउमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको विज्ञहरु बताउँछन् । डा. पुन भने कडा खालको रुवाखोकी र ज्वरोका बिरामी बढ्दै गएकाले जेएन–१ नेपालमा फैलिएको हुनसक्ने आंकलन गर्छन् । ‘केही हप्तादेखि मानिसमा कडा खालको खोकी देखिएको छ’ डा। पुन भन्छन्, ‘भारतमा जेएन–१ पुष्टि भएसँगै हामीकहाँ फैलिएको हुनसक्छ । तर यसबारे कुनै अनुसन्धान भएको छैन । संक्रमण धेरै फैलिएपनि स्वास्थ्यमा गम्भीर खतरा कम हुने विज्ञहरुको विश्लेषण छ । धुलिखेल अस्पतालका मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा। राजीव श्रेष्ठ भन्छन्, ‘खोपको कभरेज राम्रो भएकाले नयाँ भेरियन्टसँग अत्तिनु पर्दैन । तर वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम त छ । त्यसैले पहिला जोखिमयुक्त वर्गलाई खोप दिनुपर्ने डा। पुन बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्त डा। प्रकाश बुढाथोकी नागरिकले मापदण्डको पालना गर्नतर्फ बढी संवेदनशील हुनुपर्ने बताउँछन् । उनका अनुसार भारतमा संक्रमण बढ्दै गएको अवस्थामा त्यसको असर चाँडै देखिने भएको मन्त्रालयले आवश्यक तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्य संस्थालाई दिर्नेशन दिइसकेको छ । ‘केही देशमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै प्रवेश विन्दुका हेल्थ डेस्क परीक्षणको आवश्यक थालिएको छ,’ प्रवक्ता डा। बुढाथोकीले भने, ‘मन्त्रालयले निगरानी बढाउने र खोपलाई प्राथमिकता दिनेतर्फ लागेको छ ।’
अनलाईन खबरबाट साभार