कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन्।कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको बुधबार भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताएका हुन्।प्रधानमन्त्री दाहालले अब नियमितरूपमा छलफल, समीक्षा र मूल्याङ्कन सुरु गरिने बताए।“आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुँदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा छु”, प्रधानमन्त्री दाहालले भने“जनतालाई परिणाम दिने मुख्य विषय हो, जति राम्रो परिणाम दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ, हामीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।”देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य संयन्त्र कृषि र भूमि भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले कृषिलाई विकासको मूल आधार र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न नसकिए समृद्धि हासिल गर्न नसकिने बताएका छन्।रासायनिक मलका लागि सधैँ विदेशी उत्पादकको मात्रै भर पर्न नसकिने जनाउँदै प्रधानमन्त्री दाहालले अब स्वदेशमा नै मल कारखाना स्थापना गर्नेतर्फ सोच्नुपर्ने बताए।रासायनिक मलको मात्रै भर नपरी कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्ने नीति बनाइनुपर्नेमा उनको जोड रहेको थियो।