राष्ट्रियसभा चुनावको लागि दुई हजार ४७ मतदाता स्वीकृत

कालिकोट । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि दुई हजार ४७ जना मतदाता नामावली स्वीकृत गरेको छ।राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था रहेको छ। स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फ कूल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाइ पाँच सय ४९ कायम गरिएको बताईएको छ।त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता एक हजार पाँच सय छ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिकाका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक तथा नगरपालिकाका प्रमुख चार जनाको नाम हटाई कूल एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।निर्वाचनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ मतभार कायम गरिएको छ।आयोगबाट निर्धारित मतभारबमोजिम प्रदेशसभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ।

error: Content is protected !!