काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको स्वामित्व खरिद गरेर व्यापारीसँग शीर्ष नेताहरुको सम्बन्ध रहेको स्वीकार गरेका छन् । तर शेयर खरिद बिक्री प्रकरणमा अनुहार हेरेर निर्णय नगर्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बोलाएको थियो । समितिमा प्रधानमन्त्री प्रचण्डले हालै एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग आफ्नो मात्र होइन, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राम्रै चिनजान रहेको स्वीकार गरे । ‘ती मान्छे सबैलाई चिन्छु । के भ्रम नहोस् भने मलाई थाहै छैन, म अननन छु भन्ने होइन । मेरी श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई चोटी गएको छु, तिनी साथीहरु कहाँ बसेको पनि छु’, आचार्यको नाम नलिई प्रचण्डले भने, ‘शेरबहादुर देउवाजी जाँदा पनि बस्नुभएको छ । केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ ।’ सिंगापुरको नागरिकता भएका सतिशलालले बेलायतमा स्पेक्ट्रलाइट युके लिमिटेड कम्पनी खोलेर आजियाटाको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर किनेका थिए । अजियाटाले एक अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको यो सेयर हाल ५० करोड अमेरिकी डलरमा गरेको सूचना सार्वजनिक गरिएको छ । २० प्रतिशत शेयर यसअघिदेखि नै उनकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा छ ।नयाँ सम्झौतासँगै एनसेल पूर्ण रुपमा सतिशलाल र उनको परिवारको स्वामित्वमा आएको छ । एनसेलको मुद्दा लिएर सर्वोच्च अदालतसम्म गएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सेयर खरिदबिक्रीमा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारलाई समेत मुछ्दै आएका छन् । २० मंसिरमा बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा सममित बैठकमा सिंहले भनेका थिए, ‘यसमा ९एनसेल बिक्री० नेपाल सरकार नै संलग्न छ । २०८६ पति नेपाल सरकारको स्वामित्वमा आउन नदिन राजनीतिक पात्र, कर्मचारीतन्त्र र माफिया पात्र क्रियाशील छ ।’ १९ मंसिरमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंगापुरका एक व्यवसायीसँग नेपालका बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको राम्रो हिमचिम रहेको भनी एक प्राज्ञले सुनाएको बताएका थिए । ती व्यवसायी को हुन् भन्ने नखुलाएका थापाले प्रधानमन्त्रीको मंगलबारको अभिव्यक्तिपछि अनलाइनखबरसँग भने, ‘हामी शीर्ष नेताको सम्बन्धहरुबारे आशंका गथ्यौं, प्रधानमन्त्रीले आँट गरेर गएको स्वीकार गर्नुभयो ।’
अनलाईन खबरबाट साभार