भारतबाट आएका हात्तीका बथान नफर्किंदा त्रास

कालिकोट । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित भएका छन् ।झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ। एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ।मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए। हात्तीको बथानमा छावा पनि छन्। ती हात्ती हालसम्म नफर्किएको उनले बताएका छन्।हिउँद याममा बर्सेनी यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन्। लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए।डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जङ्गलमा आश्रय लिएर बसेको बताउनुभयो । उहाँका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन्।मोरङको कानेपोखरी जङ्गल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ। सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ।

error: Content is protected !!