कालिकोट । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रबार आदेश दिएको थियो । शुक्रबार अबेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले त्यसअनुसारको बैंक ग्यारेन्टी जम्मा गरिसकेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रबार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत, काठमाडौं पुगेका थिए । लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो । त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो ।