उखुको मूल्य निर्धारणप्रति किसान असहमत

कालिकोट । सर्लाहि जिल्लाका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।नेपाल उखु उत्पादक किसान महासंघ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन्। सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ निर्धारण गरिएको छ ।चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन नगर्ने उनको भनाइ छ।मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेतीले उखुको मूल्य निर्धारण चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादनसमेतको आधारमा गर्नुपर्ने बताए। बजारमा चिनीको माग बढेको समयमा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलार्ई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका उनको भनाइ छ।प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन माग गरिएको छ। गत वर्ष बेचेको उखुको अनुदानबापतको रकम अझैसम्म उखु उत्पादक किसानले पाएका छैनन्।

error: Content is protected !!