कालिकोट । मोरङको बेलबारी नगरपालिका–३ स्थित १५ शय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सारेको घटनाले मोरङ तरङ्गित भएको छ । प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर स्थापना गरिएको उक्त अस्पताल सरेपछि बेलबारीका सरोकारवालाले तीव्र असन्तुष्टि जनाएका छन् ।अस्पताल रहेको स्थानमा यसअघि इलाका प्रहरी कार्यालय राखिएको थियो । ६ कट्ठा जग्गामा रहेको इलाका प्रहरी कार्यालय अझै फराकिलो ठाउँमा सरेपछि त्यहाँ २०७९ फागुन १० गते प्रदेश प्रहरी अस्पताल स्थापना गरिएको थियो । तर, अस्पताललाई पनि ठाउँ साँघुरो हुन थालेपछि प्रदेश प्रहरी कार्यालयले राति सुनसरीको इनरुवामा सारेको हो ।अस्पताल सारेको विषयमा बेलबारी नगरपालिका, त्यस क्षेत्रका सांसदहरू, उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार उनीहरूले अस्पताल सारेकै ठाउँमा पत्रकार सम्मेलन गरी पुनः सोही ठाउँमा अस्पताल ल्याउन माग गरेका छन् ।