कालिकोट । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा ४० हजार भक्तजनले शतविज छरेका छन् । ६ लाख भन्दा बढि भेटी संकलन भएको छ।गलेश्वर शिवालय क्षेत्रविकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सन् २०२० यता कोरोना महामारीपछि सबैभन्दा धेरै भक्तजनहरु आएको जनाएको छ।कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा देशैभरबाट गलेश्वर धाममा मानिसहरु पूजाआजा, दर्शन र शतबीज छर्न आएका बताउनु भएको छ ।उनका अनुसार हिजो भक्तजनहरुबाट संकलन भएको भेटी गणना गर्दा रु ६ लाख दुई हजार दुई सय ३३ भेटी संकलन भएको छ। भेटी रकम र भक्तजनहरुको उपस्थितिले चालिस हजार भक्तजन आएको पुष्टि भएको उनको भनाइ छ।भक्तजनलाई शतबीज छर्न,पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको थियो।गलेश्वरमा लाग्ने मेला पर्वमा एकैदिन संकलन भएको भेटी यसपालिको बालाचतुर्दशीमा हाल सम्मकै धेरै भएको अध्यक्ष रेग्मीले बताउनु भएको छ ।उनका अनुसार यसपालीको बालाचतुर्दशीमा देशभरबाट भक्तजनहरु आएका छन्। साउन महिनाको सोमबार, बालाचतुर्दशी, महाशिवरात्रीको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा मन्दिरमा चढाएको भेटी रकम गन्ने गरिएको छ।