कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताएका छन्।विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरेका छन् ।भगवान गौतम बुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।बुद्धकालीन सम्पदाको संरक्षण र विकासका लागि अन्तरराष्ट्रिय समुदायलाई अपिल गरिएको बताउँदै उनले बुद्धको दर्शन, विचार र उपदेशबाट आफू सधैँ प्रेरित भएको हुँदा बुद्धकालीन सम्पदाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिलौराकोट, लुम्बिनी र रामग्राम स्तुपलाई समेटेर सरकारले वृहत्तर योजना अघि सारेको समेत जानकारी दिएका छन्।कार्यक्रममा विदेशी राष्ट्रका प्रतिनिधि तथा बौद्धमार्गीहरुको उल्लेख्य उपस्थिति थियो। शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नवलपरासी आएका हुन्।