काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्धन भए मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन्।७५ औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले कानूनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखेका हुन्।उनले संघ, प्रदेश, स्थानीय तह र सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सके मात्र मानवअधिकार दिवसले सार्थकता पाउने तर्क गरेका छन्।व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार भएको भन्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाइन्छ।
थाहा खबर बाट साभार