एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं : सरकारले यसै आर्थिक वर्षमा एक सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ। अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार २६ वटा अस्पतालका अन्तिम किस्ता पठाइसकिएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको गोपेटार स्वास्थ्य चौकीको ५ शय्या र दार्चुलाको व्यास गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल पनि चाँडै नै सम्पन्न हुने क्रममा रहेको उनले बताएका छन्।उनका अनुसार हाल ४१३ स्थानीय तहका अस्पतालको ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको छ। सरकारले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो।मन्त्रिपरिषद्ले सोहीअनुसार ३९६ अस्पताल निर्माण गर्ने निर्णय २०७७ साउन २८ गते र २५९ अस्पताल निर्माण गर्ने निर्णय २०७७ पुस १२ गते गरेको थियो।सरकारले ५ शय्याका लागि ७ करोड ११ लाख रुपैयाँ, १० शय्याका लागि १० करोड ८३ लाख रुपैयाँ र १५ शय्याका लागि १८ करोड ६ लाख रुपैयाँ रकम छुट्याएको छ।भूगोल र जनसङ्ख्याका आधारमा ५ शय्याका ८० स्थानीय तह, १० शय्याका १५७ स्थानीय तह र १५ शय्याका ४२० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिनेछ।सरकारले २ वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन ती अस्पताल निर्माण गर्ने घोषणा गरे पनि समयमै नसकिएपछि अब ५ वर्षभित्र ती निर्माण पूरा हुन नसकेका अस्पताल निर्माण गरिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए।अझै १९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन्। मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताएका छन्।मन्त्रालयका अनुसार १५ शय्याको आधारभूत अस्पतालमा एकजना एमडिजिपी चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट, दुईजना मेडिकल अधिकृत, एकजना नर्सिङ अधिकृत, छजना स्टाफ नर्स, पाँचजना हेल्थ असिस्टेन्टलगायत अन्य कर्मचारी गरी ३२ जना कर्मचारी रहनेछन्।१० शय्याको आधारभूत अस्पतालमा दुईजना मेडिकल अधिकृतसहित २२ र ५ शय्याको आधारभूत अस्पतालमा एकजना मेडिकल अधिकृतसहित १८ जना कर्मचारी रहनेछन्।

थाहा खबर बाट साभार

error: Content is protected !!