बेलायतले रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी गरेको आरोप लगाएको छ ।दुई रुसी गुप्तचरमाथि कथित स्पियर–फिसिङ अभियान र ‘बेलायतलाई कमजोर पार्ने उद्देश्यका गतिविधि’ को तयारीमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको विदेश मन्त्रालयले बताएको छ।‘बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयास सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ’, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी जिम्मेवार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयास उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ। ’क्यामरुनको कार्यालयले सेन्टर १८ (एफएसबीभित्रको एकाइ) बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेवार रहेको बताएको छ। एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू चुहावट भएको बेलायत सरकारले दाबी गरेको छ।विज्ञप्तिमा उक्त सङ्गठनले बेलायत–अमेरिका व्यापार कागजात पनि ह्याक गरेको र यो सन् २०१९ डिसेम्बरमा बेलायतमा आमनिर्वाचन हुनुभन्दा पहिला लिक गरिएको उल्लेख छ।रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ। विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ। यद्यपि हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ।पछिल्लो दाबीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लण्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ।
थाहा खबर बाट साभार