विराटनगर । विराटनगरको मुख्य बजारको कवाडी पसलमा भएको आगलागीमा परी घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाली सेनाको हेलिकप्टरमा बुधबार बेलुका काठमाडौं पठाइएको हो । विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो । चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । घाइतेलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो । आगलागीमा परी घाइते भएकालाई हेलिकप्टर मार्फत काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा पत्राचार गरेको थियो । सेनाको हेलिकप्टर आएपछि घाइते विराटनगर ६ की ६० वर्षीया रीता सरदार, विराटनगर ६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका ६ की ३० वर्षीया पिंकी कामत र विराटनगर ६ का ५८ वर्षीय किशोर कामतलाई काठमाडौं पठाइएको हो ।सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ स्१५ बजेतिर एक्कासी आगलागी भएको थियो। आगलागीमा परी दुई जनाको मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु भएकी एक महिलाको पहिचान खुलेको छैन । अर्का घाइते तथा कवाडी पसलका सञ्चालक ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो । आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ ।
अनलाईन खबरवाट साभार